एजेन्सी– दक्षिणी चीनको फुजिएन प्रान्तमा कोरोनाभाइरस संक्रमितकाे आफन्तहरू राखिएको पाँचतले क्वारेन्टाइन भवन भत्किँदा ४ जनाको ज्यान गएकाे छ। चीनको क्वानझोऊमा रहेको पाँचतले सिन्जा होटल शनिबार भत्किएको हो। क्वारेन्टाइन भवन भत्किएर फसेकाकध्ये ४ जनाको ज्यान गएको हाे।
अझै भग्नावशेष भवनमा मानिसहरू फसिरहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ। चीनको सरकारी माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, भत्किएको होटलमा ७० जना फसेका थिए। तीमध्ये ४७ को उद्धार गरिएको छ। फसेका अन्य व्यक्तिको उद्धार प्रयास भइरहेको जनाइएको छ।
फुजियानको दक्षिणी प्रान्तमा अवस्थित क्वारेन्टाइन स्थल भत्किएसँगै उद्धारकर्ताहरूले फसेकाहरूको उद्धार कार्य भइरहेको सार्वजनिक भिडियोहरूमा देख्न सकिन्छ। सुविधासम्पन्न पाँचतले होटल भत्कनुको कारण अहिलेसम्म खुलेको छैन।
उक्त होटल सन् २०१८ मा खुलेको र त्यसमा ८० वटा अतिथिकक्ष भएको बताइन्छ। शुक्रबारसम्म फुजिएनमा झन्डै ३०० जनामा काेराेना सङ्क्रमण भएको पुष्टि भएको थियो। र त्यहाँ झन्डै ११,००० जनालाई निगरानीमा राखिएको थियो।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या एक लाख नाघेको छ। कोभिड-१९ भएर मृत्यु हुनेको सङ्ख्या पनि ३५ सय नाघिसकेकाे छ। अधिकांश सङ्क्रमित र मृत्यु चीनको हुबेइ प्रान्तमा भएको तथ्याङ्कले देखाउँछ।