काठमाडौं– भुटान सरकारले दुई साताका लागि पर्यटकलाई रोक लगाएको छ। भुटानमा एक अमेरिकी नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि सबै पर्यटकलाई रोक लगाउने निर्णय भएको हो। भारत–भुटान सीमा जयगाउँमा दुबेतर्फ निगरानी कडा पारिएको छ।
जयगाउँ ट्राभल्स वेलफेयर एसोसिएसनका अध्यक्ष सुरेश ठकुरीले पर्यटकलाई प्रवेशमा रोक लगाएकोले पर्यटन व्यावसाय ठप्प भएको बताए। भारत र भुटानबीचको सीमावर्ती क्षेत्र जयगाउँ र फिन्सोलिङमा स्क्रिनिङ जारी छ। यता दार्जिलिङका जिल्ला शासक दीपाप प्रिया पीले नेपालसँग सीमा जोडिएको पानीट्याङ्की र बंगलादेशसँगको सीमावर्ती फाँसीदेवामा निगरानी कडा बनाएको बताएका छन्।
‘बाघडुगरा हवाई अडमा अहिलेसम्म एक सय ८२ जना विदेशी नागरिकको स्क्रिनिङ भईसकेको छ’, पीले भने, ‘सिक्किम र भुटानमा विदेशी पर्यटकलाई रोक लगाएको छ तर भारतको केन्द्रीय सरकारले यस प्रकारको कुने आदेश जारी गरेको छैन।’
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बंगालमा कोरोना भाईरसलाई लिएर आतंकित हुनुपर्ने कुनै कारण नरहेको जानकारी दिएकी छन्। बनर्जीले विभिन्न मन्त्रालयका अधिकारीसँगको बैठक पछि पश्चिम बंगालमा सरकाले सबै प्रकारका गतिविधि चुस्त राखेको बताएकी छन्। (कान्तिपुर पत्रिकाबाट साभार)