एजेन्सी– नजिकिँदै गरेको होलीका लागि श्रीमानले कपडा नकिनिदिएको रिसमा श्रीमतीले ६ महिनाकी छोरीलाई मारिदिएकी छिन्। घटना अलीगढ जिल्लाको रामपुरको भएको आज तकको समाचारमा उल्लेख छ। यहाँ २५ वर्षकी महिलाका पतिले होलीका लागि कपडा किनिदिन अस्वीकार गरेपछि पती पत्नीमा झगडा भएको थियो।
झगडापछि श्रीमतीको रिसको पारो यति तात्यो कि उनले आफ्नी ६ महिनाकी छोरीलाई कुटीकुटी मारेकी छिन्। पुलिसका अनुसार आरोपी महिलाको नाम पिंकी शर्मा हो। पिंकीका पति राहुलले कपडा किन्न बजार जान नमानेपछि यी दुईबीच झगडा भएको थियो।
झगडापछि पिंकी रिसले चुर भएर छोरी सोनी भएको ठाउँमा गएर उनलाई नराम्ररी कुटिन्। बालिकाको कुटाइका कारण घटनास्थलमै ज्यान गयो। घटनापछि राहुलले पुलिसमा पत्नीविरुद्ध उजुरी दिए। पुलिसले हत्या अभियोगमा मुद्दा दर्ता गरी पिंकीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको छ।