एजेन्सी– ट्युनिसियास्थित अमेरिकी दूताबासमा आत्मघाती बम विस्फोट भएको छ।
बर्गेस डु लाक जिल्लामा रहेको अमेरिकी दूताबासबाहिर २ वटा बम विस्फोट भएको अल जजिराले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार मोटर साइकलमा सवार एक व्यक्तिले दूताबास नजिककै बम विस्फोट गराएपछि वरपर रहेका पैदल यात्रुहरु भागाभाग गरेका थिए।
ट्युनिसियाको बमविस्फोटमा परी २ जना आत्मघाती हमलाकारी मारिएको र ५ जना प्रहरी घाइते भएको जानकारी दिएको छ।
स्थानीय समाचार वेभसाइटमा पोष्ट गरिएका तस्बिरमा विस्फोटबाट दूताबास बाहिर रहेका सवारी साधनमा क्षति पुगेको देख्न सकिन्छ। साथै प्रहरीले घटनास्थल वरपर टेपले घेराबन्दी गरेको र पछिल्लो भागमा अमेरिकी झण्डा फरफराइरहेको देख्न सकिन्छ।
यता ट्युनिसियास्थित अमेरिकी दूताबासले विस्फोट लगत्तै आपतकाली टोली खटाइएको जानकारी दिएको छ। पछिल्ला वर्ष बन्दुकधारीले ट्युनिसियामा हमला गर्दै आएका छन्। ती हमला परी कैयौंको ज्यान गएको छ। गत वर्ष राजधानीमा आईएसले गरेको आक्रमणमा परी १ प्रहरीको ज्यान गएको थियो।