काठमाडौं– टर्कीमा राष्ट्रपतिको आलोचना गरेपछि एक सांसदले संसदभित्रै कुटाई खाएका छन्। बिहिबार बसेको संसद बैठकमा विपक्षी दलका सांसदले राष्ट्रपति रिसेप एर्दोगानको आलोचना गरेपछि सांसदहरुबीच विवाद चर्किदा सांसद एन्जिन ओजकोकले कुटाई खाएका हुन्।
उनले सिरियाको इडलिबमा गत साता मारिएका ३४ सैनिकको अपमान गरेको भन्दै राष्ट्रपति एर्दोगानको कडा आलोचना गरेका थिए। ओजकोकले राष्ट्रपतिलाई एर्दोगानलाई ‘बेइमान, अज्ञानी, नीच र विश्वासघाती’ भनेका थिए। उनले राष्ट्रपतिबारे बोलेपछि केही सांसदले ओजकोकमाथि मुड्की प्रहार गरे।
केहीले झगडा रोक्न खोजिरहेका थिए, झगडाको क्रममा कतिपय सांसदहरु भुइँमै लडेका दृश्य टर्कीको टेलिभिजन हाबरर्तुकले देखाएको थियो। संसदमा पिटिने ओजकोक रिपब्लिकन पिपल्स पार्टीका सांसद हुन्।