काठमाडौं– पल शाह र पूजा शर्माको मुख्य अभिनय रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति सारिएको छ। यही फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको सो फिल्मकाे रिलिज मिति कोरोना भाइरसको जोखिमका कारण स्थगित गरिएको हो।
विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको बेला सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पनि निर्धारित मितिमा रिलिज नहुने भएको हाे। निर्देशक सुदर्शन थापाले आफ्नो ब्यानर सुदर्शन थापा प्रोडक्सनका तर्फबाट एक विज्ञप्ति जारी गर्दै अर्को सूचना सार्वजनिक नगरी फिल्मको प्रदर्शन नगर्ने जनाए।
‘आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ। साथै निर्माण टिमले फिल्म निर्धारित मितिमा रिलिज गर्न नसकेकोप्रति क्षमा पनि मागेको छ।
सुदर्शन थापाको निर्देशनमा रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित रहेको छ। यो फिल्ममा पर र पुजाको साथै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र, सोनिका रोकाया लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ। सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु २’ रिलिजअघि नै चर्चामा छ।
पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसका कारण संसारभरका फिल्म उद्योग प्रभावित भएका छन्। नेपालमा कोरोनाका कारण फिल्म स्थगन गरिएको यो पहिलो पटक हो।