एजेन्सी– इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कनी आफ्नी ३४ वर्षकी प्रेमिकासँग अलग्गिएका छन्। १२ वर्षदेखि साथमा रहेकी प्रेमिका फ्रान्सेस्का पास्कलसँग अलग्गिएसँगै बर्लुस्कनीले मार्टा फासिना नामकी अर्की महिलाँग डेटिङ गरिरहेको खबर छ। मार्टा उनकै पार्टीकी पूर्व सांसद समेत हुन्।
बर्लुस्कनीको पार्टी फर्जा इटालियालाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार यी दुई छुट्टिए पनि साथी भने रहिरहनेछन्। पास्कलले एक अन्तरवार्तामा आफूले बर्लुस्कनीलाई बिहे गर्नका लागि दैनिकजसो आग्रह गरिरहेको बताएकी थिइन्।
‘उनी मेरालागि सँधै प्रिय रहिरहनेछन्। यो संसारका सबै खुशी उनलाई प्राप्त होस् भन्ने कामना गर्दछु’ पास्कलले भनेकी छन्। इटालीको राजनीतिमा दुई दशकसम्म हावी रहेका बर्लुस्कनीले दुईचोटी डिभोर्स गरिसकेका छन्। उनले अहिले उनकै पार्टीकी ३० वर्षे सांसद मार्टा फासिनासँग डेटिङ सुरु गरेको बताइएको छ।