काठमाडौं – बहुचर्चित बलिउड फिल्म सुर्यवंशीको ट्रेलर रिलिज भएको छ। सुपर स्टार अक्षय कुमार स्टारर यो फिल्मको ट्रेलर नेपालमा यूट्यूबको ट्रेण्डीङ नम्बर १ मा नै छ। ३ दिनअघि रिलिज भएको ट्रेलर अहिलेसम्म करिव ६ करोड पटक हेरिएको छ।
ट्रेलरमा अक्षयको दमदार ‘डाईलग्स’हरु सुन्न सकिन्छ भने अजय देवगण, रणबिर सिंह, क्याटरीना कैफ, ज्याकि श्राेफ, गुलशन ग्राेबर, जावेद जाफ्रीलगायत देखिन्छन्। आतंकवादको कथामा सुर्यवंशी बनेको छ भन्ने सहजै बुझ्न सकिन्छ। ट्रेलर हेरिसक्दा यो फिल्म आतंकवादीबिरुद्द भारतीय प्रहरीको लडाईको कथा वरिपरी पनि नै घुमेको देखिन्छ।
बलिउडप्रेमीहरुले निकै प्रतिक्षा गरेको यो फिल्मको रिलिज मिती नेपाली दर्शकहरुले व्यग्रताका साथ कुरीरहेका छन्। यो फिल्म कुरेर बसिरहेका दर्शकहरुलाई सुर्यवंशीमा नेपालको कथा पनि छ भन्दा अचम्म लाग्न सक्छ। तर, साच्चिकै यो फिल्ममा नेपालको केहि न केहि कनेक्सन देखाइएको छ। र यो कुरा ट्रेलरले नै पुष्टि गर्छ।
सुर्यवंशीको ट्रेलरको अन्तिममा प्रयोग गरिएको नेपाली भाषाको संवादले फिल्ममा नेपालको कथा महत्वको साथ समेटिएको अड्कल गर्न सकिन्छ। ट्रेलर सकिने बेलामा नेपाल प्रहरीले प्रयोग गर्ने कोड भाषा सुनिन्छ भने संवादको आधारमा फिल्मको केहि दृष्य पोखरामा पनि छायांकन गरिएको आंकलन गर्न सकिन्छ।
यसअघि अक्षय कुमारको फिल्म बेबिको केहि दृष्य पनि नेपालमा छायांकन गरिएको थियो। रोहित शेट्टि निर्देशीत सुर्यवंशी यहि मार्च २४ तारिखको दिन रिलिज हुदैँछ।