एजेन्सी– सिरियामा सक्रिय केही जिहादी लडाकुहरूले सरकारी सेनाविरुद्ध रासायनिक हतियार प्रयोग गर्ने प्रयास गरेका छन्।
रुसी विदेशमन्त्रालयका अनुसार इदलिब प्रान्तस्थित साराकेभ नगरमा जिहादी विद्रोहीहरूले सिरियाली सेनाविरुद्ध रासायनिक हतियार प्रयोग गर्ने प्रयास गरेका हुन्।
सरकारी सेनाको आक्रमणलाई निस्तेज पार्नका लागि रासायनिक हतियार प्रयोग गर्न खोजिएको रुसी रक्षा मन्त्रालयले बताएको छ।
जिहादी समूहले सरकारी सेनालाई लक्षित गरी विषालु रसायनले भरिएका ट्याङ्की विस्फोट गर्न खोजेका थिए। तर हतियारबारे पूर्ण ज्ञान नहुँदा जिहादीहरूले नै क्षति व्यहोर्नु परेको समाचारमा उल्लेख गरिएको छ।
रसिया टुडेका अनुसार विषालु रसायनले भरिएका ट्याङ्की विस्फोट गर्ने क्रममा एउटा ट्याङ्की चुहिएको थियो। ट्याङ्कीमा रहेको विषालु ग्यास अचानक बाहिर आएपछि जिहादीहरू नै प्रभावित बनेका थिए।
समाचार अनुसार रासायनिक हतियार चुहिँदा केही जिहादीहरू गम्भीर बिरामी भएका थिए भने ट्याङ्की विस्फोट गर्न असफल भएका थिए।