एजेन्सी– अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन्। स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त समाचारमा जनाइएको छ।
त्यहाँको भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको छ। आँधीले उक्त राज्यको राजधानी न्यासभिलमा धेरै संरचनामा क्षति र्पुयाएको अधिकारीहरूले जानकारी दिएका छन्।
टेनेसीको विपद् व्यवस्थापन निकायका मेलिसा हक्सले आँधीले पुर्याएको क्षतिबारे बताउँदै भनेः आँधीका कारण ‘यसपटक २४ जनाको मृत्यु भएको छ भने राज्यका चार ‘काउन्टी’मा व्यापक भौतिक संरचनामा क्षति पुगेको छ।’
न्यासभिलको अग्नि नियन्त्रण विभागले आँधीका कारण १४० भन्दा बढी भवन भत्किएको र कैयौँ व्यक्ति भवन भग्नावशेषमा पुरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ।