एजेन्सी– तालिबानले अफगान सेनासँग आंशिक रूपमा युद्धविराम भङ्ग गरेपछि अफगानिस्तानमा पुन लडाइँ सुरु भएको छ। त्यसबाट आगामी साता हुने भनिएको शान्तिवार्ता प्रति सन्देह उत्पन्न भएको छ।
अधिकारीहरूका अनुसार १६ भन्दा बढी प्रान्तमा दुई पक्षबीच सङ्घर्ष भएको छ। त्यहाँ भएका घटनामा ८ विद्रोही, ६ सामान्य नागरिक र ८ सुरक्षाकर्मीको ज्यान गएको बताएको छ।
अफगान सरकारको भनाइ अनुसार तालिबानले स्थानीय स्तरमा पुन: आक्रमण सुरु गरेको २४ घण्टामा २० जनाको मृत्यु भएको जनाएको छ। यसैबेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक तालिबान नेतासँग “धेरै राम्रो कुराकानी’’ भएको बताएका छन्। गत हप्ताको अन्त्यमा अमेरिका र तालिबानबीच भएको शान्ति सम्झौता पश्चात् उनीहरूबीच टेलिफोनमा वार्ता भएको थियो।
कुराकानीमा के भयो?
तालिबानका एक प्रवक्ताले अमेरिकी राष्ट्रपति र मुल्ला अब्दुलगनी बरादरबीच आधा घण्टाभन्दा लामो कुराकानी भएको बताए।

दुवै नेताले अफगानिस्तानमा शान्ति स्थापना गर्ने इच्छा व्यक्त गरेको उनले जानकारी दिए। तालिबानका अनुसार ट्रम्पले आफ्ना विदेशमन्त्री माइक पोम्पेओलाई अफगान राष्ट्रपति अशरफ गनीसँग कुराकानी गर्न लगाउनेछन्।
त्यसो गर्दा अफगान सरकार र तालिबानबीच वार्ता सुनिश्चित हुने र शान्ति सम्झौताअनुसार योजना बनाउन सकिने उसको भनाइ छ। कैदी आदानप्रदान गर्ने विषयमा विद्यमान विवादले उक्त सम्झौता माथि प्रश्न उठेको छ। उनको भनाइ अनुसार त्यसमा अफगान सरकार भने प्रत्यक्ष रूपमा संलग्न छैन।
विवाद किन?
सम्झौताअनुसार आगामी मार्च १० सम्ममा झन्डै ५,००० तालिबान कैदी र १,००० अफगान सुरक्षाकर्मी आदानप्रदान गरिनेछ।
तालिबान र अमेरिकाबीच शान्ति सम्झौता हुनुअघि अफगानहरू खुसी भएका थिए
सोही मितिमा तालिबान र अफगान सरकारबीच वार्ता सुरु हुन लागेको छ। तर अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आइतवार आफ्नो सरकार त्यसमा सहमत नभएको बताएका छन्।
सोमवार तालिबानले यदि कैदीहरू रिहा नभए वार्ता सुरु नहुने बताएको छ। तालिबानले अफगान अधिकारीहरूसँग भेट्ने र कैदीहरूको रिहाइबारे मात्र कुराकानी गर्ने बताएको छ। बीबीसी