एजेन्सी– न्यायमा ढिलाइ गर्नु भनेको न्याय नदिनुजस्तै हो भनिन्छ। यही कुरालाई मध्यनजर गर्दै भारतको झारखण्ड राज्यमा एक अदालतले छिटो न्याय सम्पादनको लागि रातभर सुनुवाइ जारी राखेको छ। ६ वर्षकी बालिकाको बलात्कारपछि हत्या गरिएको मुद्दाको सुनुवाइका लागि दुमका जिल्लाका डिस्ट्रिक्ट सेसन जज तौफिकुल हसनले गएराती रातभर सुनुवाइ जारी राखे। उनले रातभरमा अभियोजन पक्षका सबैको बयान सुनेर कसेका छन्।
आज तकको समाचार अनुसार यसलाई भारतको इतिहासमै बलात्कार र हत्या मुद्दामा भएको सबैभन्दा छिटो सुनुवाइ मानिएको छ। ५ फेब्रुअरीमा नाताले काका पर्ने मिठ्ठु रायले आफ्नी ६ वर्षकी भतिजीलाई चकलेट र बेलुन दिने लालच देखाएर घरबाट लिएर गएका थिए। त्यसपछि उनले आफ्ना २ साथीसँग मिलेर बालिकालाई सामूहिक बलात्कार गरे। असहनीय पीडाले जब बालिका बेहोस भइन् त्यसपछि उनको घाँटी थिचेर हत्या गरिदिए। लाश लुकाउनको लागि माटोमा गाडिदिए।
यो क्रुर अपराधपछि तीनैजना पीडित बालिकाकै घर गएर सुते। बिहान ३ बजेतिर जरुरी काम भएको भन्दै फरार भए। घटनाको २ दिनपछि ७ फेब्रुअरीमा बालिकाको लाश भेटियो। फरार मुख्य आरोपी मिठ्ठु रायलाई पुलिसले १३ फेब्रुअरीमा मुम्बइको कल्याण रेलवे स्टेशनबाट गिरफ्तार गर्यो। उनले दिएको जानकारीका आधारमा अन्य २ आरोपीलाई गोड्डा जिल्लाको पौड्याहाटबाट पक्राउ गरियो। त्यपछि पुलिसले थप अनुसन्धान गरेर प्रमाण जुटाएपछि २८ फेब्रुअरीमा अदालतमा मुद्दा दर्ता भयो।
मुद्दाको गम्भीरतालाई हेर्दै अदालतले अन्य सबै मुद्दाको सुनुवाइ पछिलाई सारिदियो र त्यतिबेलादेखि यो मुद्दामा निरन्तर सुनुवाइ चलिरहेको छ। २८ फेबूअरीमा ६, २९ फेब्रुअरीमा २९ फेब्रुअरीमा ४, २ मार्चमा ६ जनाको बयान लिइसकिएको छ। हिजो सुनुवाइमा समय लाग्ने देखिएपछि रातीसम्म अदालतको कारवाही जारी राखियो र अभियोजन पक्षको बहस पूरा भइसकेको छ। अब आरोपीको पक्षको बयान लिएपछि अन्तिम फैसला सुनाइनेछ।