एजेन्सी– तालिबान विद्रोहीले सोमवार युद्धविराम भंग भएको घोषणा गरेको छ। अमेरिकासँग सम्झौता भएको दुई दिनमै तालिबान विद्रोहीले सुरक्षाकर्मीमाथि आक्रमण गर्ने स्पष्ट पारेको छ।
तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदले भने, ‘हिंसामा न्यूनीकरण...अब सम्झौता सिद्धिएको छ र हाम्रो अभियान सामान्य रूपले चल्नेछ।’
अमेरिका र तालिबानबीच भएको सम्झौताअनुसार तालिबान लडाकुले अफगानिस्तानमा तैनाथ विदेशी सैनिकमाथि आक्रमण नगर्ने बताए। उनले भने, ‘अफगान सुरक्षाकर्मीमाथि हाम्रो आक्रमण जारी छ।’
गत शनिवार अफगान तालिबान र अमेरिकाबीच कतारको राजधानी दोहामा सम्झौतामा हस्ताक्षर भएको थियो। उक्त सम्झौतामा अफगानिस्तानमा तैनाथ विदेशी सैनिक १४ महिनाभित्र फर्किसक्ने उल्लेख छ। त्यसको साटो तालिबानले अफगानिस्तानमा कुनै पनि हातंकवादी गतिविधि हुन नदिने बताइएको छ।अलकायदा र इस्लामिक स्टेट जस्ता आतंकवादी संगठनले गर्दै आएका फौजी भर्ना र चन्दा असुली हुन नदिने तालिबानको जिम्मेवारी बताइएको थियो।
सम्झौता भएलगत्तै तालिबानको विश्वास गर्न नसकिने भन्दै अमेरिकी सैनिक अधिकारीले आशंका गरेका थिए। आफूहरूको माग नसमेटिएको भन्दै अफगान राष्ट्रपति अशरफ घानीले पनि सम्झौताप्रति असन्तुष्टि व्यक्त गरेका थिए। हजारौं तालिबान लडाकुलाई छोड्ने उल्लेख गरिएकोमा अफगान सुरक्षा अधिकारीले आलोचना गरेका थिए। तालिबान र अफगान समस्याभन्दा अमेरिकाले तालिबानलाई बढी महत्व दिएको भन्ने अफगान सरकारको भनाइ छ।
अफगानिस्तानमा फुटबल खेल भइरहेको स्थानमा सोमवार विष्फोट हुँदा कम्तीमा तीनजनाको मृत्यु भएको प्रहरीले बताएको छ। उक्त घटनामा ११ जना घाइते भएका छन्। पश्चिम खोस्ट प्रान्तका प्रहरी प्रमुख सैयद अहमद बाबाजाईले विष्फोटको पुष्टि गर्दै भने, ‘मोटरसाइकलमा आएको एक व्यक्तिले विस्फोट गराएको र उक्त विस्फोटमा तीनजनाको मृत्यु भएको छ।’