एजेन्सी– साउदी अरेबियामा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छ। साउदी प्रेस एजेन्सीलाई उद्धृत गर्दै साउदी ग्याजेटले लेखेअनुसार इरानबाट बहराइन हुँदै आफ्नो देश फर्केका एक साउदी नागरिकमा संक्रमणको पुष्टि भएको हो। साउदीको स्वास्थ्य मन्त्रालयले सोमबार एक साउदी नागरिकमा संक्रमण देखिएको पुष्टि गरेको हो।
ती नागरिकलाई अस्पतालमै क्वारेन्टाइनमा राखिएको र थप उपचार अगाडि बढाइएको मन्त्रालयले जनाएको छ। ती यात्रु पानीजहाजबाट साउदी फर्किएका थिए।
मन्त्रालयका अनुसार ती संक्रमित व्यक्तिको सम्पर्कका रहेका सबैको नमूना संकलन गरी परीक्षणको लागि प्रयोगशाला पठाइएको छ। मन्त्रालयले सबै नागरिकलाई भाइरसबारे जानकारी लिन ९३७ सेवा केन्द्रमा सम्पर्क गर्न र हल्लाको पछि नलाग्न आग्रह गरेको छ।