एजेन्सी– समुद्रमा पस्नलाई लाइफ ज्याकेट लगाउनुपर्छ, कि पौडी खेल्न जानेको हुनुपर्छ। नत्र त्यहिँ डुबेर मर्नुको विकल्प रहँदैन। पौडी खेल्न नजान्नेहरु समुद्रको किनारमा पनि डरले गर्दा लाइफ ज्याकेट लगाउँछन्।
आज हामी तपाईहरुलाई त्यस्तो समुद्रको विषयमा जानकारी दिनेछौँ जहाँ केही नलगाई पसेपनि डुबिँदैन। पौडी खेल्न नजान्नेहरुले पनि लाइफ ज्याकेटको सहाराबिना नै त्यो समुन्द्रमा पसेर मजा लिन सक्छन्। मानिसहरु त्यो समुद्रमा डुब्नुको सट्टा पात तैरिएजसरी तैरिन्छन्।
डेड सी नामक उक्त समुद्र जोर्डन र इजरायलको बीचमा रहेको छ। त्यसलाई साल्ट सी पनि भन्ने गरिन्छ। त्यो समुद्रमा नूनको मात्रा अत्यधिक भएकाले पानी असाध्य नुनिलो छ।
जसले गर्दा कुनै वनस्पति वा जीव उक्त समुद्रमा पाइदैनन्। त्यो समुद्रको पानीमा पर्याप्त मात्रामा मिनरल पाइने भएकाले गर्दा स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले बताएका छन्।
त्यो समुद्रमा नुहाउँदा छालाका रोगहरु तुरुन्तै निवारण हुने विश्वास पनि रहेको छ। त्यहाँ नुहाउनकै लागि टाढा टाढाबाट पर्यटकहरु आउने गर्छन्।
नूनको मात्रा अत्यधिक हुने कारणले गर्दा नै त्यो समुद्रमा मान्छे डुब्दैनन्। मानिसहरु आरामले पानीमा तैरिइरहेको देख्न सकिन्छ। यो समुन्द्र मान्छे नडुब्ने विश्वकै एक मात्र समुन्द्र हो।