एजेन्सी– इजरायलमा सोमबार बिहानबाट मतदान शुरु भएको छ। मुख्य दलबीच सहमतिमा सरकार गठन हुन नसकेपछि एक वर्षभित्रै यो तेस्रो आमनिर्वाचनको मतदान शुरु भएको हो।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि भ्रष्टाचारको एक फौजदारी अभियोग लागे पनि आगामी चुनावी प्रतिस्पर्धा निकै रोचक हुने सङ्केत गरेको छ। यस निर्वाचनमा ६४ लाख योग्य मतदाता रहेका जनाइएको छ।
गत वर्ष अप्रिल र सेप्टेम्बरमा सम्पन्न दुईवटा चुनावमा दक्षिणपन्थी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका मुख्य प्रतिद्वन्द्वी ब्लू एन्ड ह्वाइट पार्टीका अध्यक्ष बेन्नी गान्जले स्पष्ट बहुमत ल्याउन सकेका थिएनन्।
उनीहरु दुबैले सरकार गठनका लागि साना दलसँग पनि समझदारी निर्माण गर्न नसक्दा तेस्रो चुनाव गर्नुपर्ने स्थिति उत्पन्न भएको बताइएको छ।
तर दुबै पक्षले बहुमतको अभाव हुने अपेक्षा गरेका छन्। पटकपटकको चुनावबाट थकित भइसकेका इजरायलीले यस आमचुनावमा पनि त्यति उत्साह देखाएका छैनन्।
राजनीतिक सहमति नभए वर्षान्तमा चौथो चुनाव हुने अड्कलबाजी गर्न थालिएको छ। अघिल्लो चुनावभन्दा यसपटक भिन्न अवस्था देखा पर्दैछ। इजरायलका सर्वा्धिक लामो अवधिसम्म प्रधानमन्त्री रहेका नेतान्याहुमाथि पदमै रहँदा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरिएको थियो।
गत नोभेम्बरमा उनीमाथिका प्रमाण सार्वजनिक गरिएको थियो भने गत महिना अदालतमा मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा उहाँमाथि घूसखोरी, धोखाधडी र विश्वास भङ्ग गरेको आरोप लगाइएको छ।
प्रधानमन्त्री नेतान्याहुले आफूविरुद्ध लगाइएका आरोप झुठा रहेको भन्दै निरन्तर अस्वीकार गरिरहेका छन्। उनीमाथि लागेको सबैभन्दा गम्भीर आरोप टेलिकम क्षेत्रको रहेको छ।
नेतान्याहुमाथिको मुद्दाको सुनुवाई आगामी मार्च १७ तारिखबाट शुरु हुँदैछ। पछिल्ला चुनावी मतसर्वेक्षणले नेतान्याहूको लिकुड पार्टी र ब्लू एन्ड ह्वाइट पार्टी दुबैले संसदमा बहुमत जुटाउन नसक्ने देखाएका छन्। इजरायली संसद् नेसेटमा बहुमत प्राप्त गर्न ६१ सिट आवश्यक पर्दछ।