एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरू कसैसँग पनि युद्ध गर्न नचाहेको बताएका छन्। पुटिनले सोमबार रुसले कुनै पनि मुलुकसँग युद्ध नचाहेको बताएका हुन्। रुसी समाचार माध्यम टासले पुटिनलाई उदृत गर्दै रुसले सबै मुलुकसँग शान्ति चाहेको बताएको छ।
पछिल्लो समय टर्कीसँग सम्बन्ध बिग्रँदै गएपछि पुटिनको भनाइ बाहिर आएको हो। सिरियाको इदलिब प्रान्तमा सरकारी सेनाको हवाइ आक्रमणमा परी ३३ जना टर्केली सैनिक मारिएपछि दुबै मुलुकबीच तनाव चुलिएको छ।
झण्डै १० वर्षदेखि जारी सिरियाली युद्धमा टर्की र रुसले फरक-फरक फौजलाई सहयोग र समर्थन गर्दै आएका छन्। रुसले सिरियाली सेनालाई र टर्कीले सरकारी फौजसँग लडिरहेका विद्रोही समूहलाई समर्थन गर्दै आएका छन्।
शुक्रबार मात्रै पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैयाव एर्दोगानबीच इदलिबमा उत्पन्न तनाव कम गर्नका लागि बैठक बस्ने सहमति भएको थियो।
यता आइतबार इदलिबमा एक अपरिचित विमान खसालिएपछि सिरियाली उक्त क्षेत्रमा सबै खाले हवाइ उडान बन्द गरेको छ । टर्कीका लडाकु विमान रोक्नका लागि उक्त कदम चालिएको समाचारमा बताइएको छ।