एजेन्सी– फिलिपिन्सको राजधानी मनिलामा एक सुरक्षा गार्डले कम्तिमा पनि ३० जनालाई बन्धक बनाएका छन्। जागिरबाट हटाएपछि रुष्ट बनेका ती सुरक्षा गार्डले सोमबार मनिलामा ३० जनालाई बन्धक बनाएको अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन्।
उनले आफूले काम गर्दै आएको सपिङ मलमा गोली समेत चलाएका थिए। गोली लागी १ जना घाइते भएका छन्।गोली चलाएपछि ती सुरक्षा गार्डले ३० जनालाई बन्धक बनाइरहेको समाचारमा उल्लेख गरिएको छ।
सान जुआन जिल्लाका मेयर फ्रान्सिस जामोराले सुरक्षा गार्डले गोली चलाउँदा कम्तिमा पनि एकजना घाइते भएको बताएका छन्। हाल ती गार्डले ३० जनालाई मलभित्र बन्धक बनाइरहेको उनको भनाइ छ। बन्धक बनाइएका मानिस छुटाउनका लागि सुरक्षा गार्डसँग वार्ता भइरहेको पनि जामोराले बताए।
मनिलाको ग्रिनहिल्सस्थित भि मलमा काम गर्दै आएका ती सुरक्षा गार्डलाई केही समयअघि जागिरबाट हटाइएको थियो। जागिरबाट हटाइएपछि उनी रुष्ट बनेका थिए। उनी सोमबार पुनः मलमा आएर मानिसहरूलाई बन्धक बनाएको समाचारमा बताइएको छ।
हाल भि मलमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। सोमबार बिहान ग्रिनहिल्सको भि मलमा गोली चलेलगत्तै उक्त घटना भएको हो। गोली चलेपछि सपिङ मलमा आएका मानिस, व्यापारी तथा कर्मचारीहरू भागाभाग गरेका थिए।
गोली चलेपछि उक्त क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। हाल सुरक्षाकर्मीले उक्त क्षेत्रलाई घेराबन्दी गरिरहेका छन्। सुरक्षा गार्डले ग्रिनेडसहित अन्य हतियारको सहयोगमा ३० जनालाई बन्धक बनाइरहेको अधिकारीहरुले बताएका छन्।
समाचार अनुसार जागिरबाट निष्कासन गरेपछि ती सुरक्षा गार्ड सोमबार पुनः मलमा आएर केही माग राखेका थिए। उनले अन्य सुरक्षा गार्डलाई पनि मलको व्यवस्थापनविरुद्ध आफूलाई सहयोग गर्न भनेका थिए।