एजेन्सी– काेरोना (कोभिड १९) भाइरस शुरु भएको राष्ट्र चीनमा २ हजार ८ सय ७० जनाले ज्यान गुमाइसकेका छन्। हालसम्म ७९ हजार ८ सय २६ जना संक्रमित छन्।
कोभिड १९ कै कारण हङकङका सुपरस्टार ज्याकी च्यानका प्रशंसकहरुले उनको स्वास्थ्यलाई लिएर निकै चिन्ता व्यक्त गरेका छन्। यद्यपि, ज्याकीले भने आफ्नो इन्स्टाग्राममार्फत आफु सुरक्षित रहेको जानकारी दिएका छन्। अंग्रेजी वेबसाइट स्पटबोयका अनुसार ज्याकीको संसारभरी थुप्रै प्रशंसकहरु रहेका छन्।
सबै प्रशंसकहरु आफ्नो स्वास्थ्यको विषयमा निकै चिन्तित भएकै कारणले उनले इन्स्टाग्राममा आफ्नो बारे लेख्दै भने, ‘मेरोबारे चिन्ता गरिदिने सबैलाई धन्यवाद, म सुरक्षित र तन्दुरुस्त छु चिन्ता लिनु पर्दैन र म क्वारेन्टाइनमा छैन। आशा गर्छु कि तपाईं सबै स्वस्थ हुनुहुन्छ।’
कारोना भाइरसकै कारण जेम्स बोन्ड सिरिजको २५ औं फिल्म ‘नो टाइम टु डाई’ को अप्रिलमा हुने प्रिमियर र टुर रद्द भएको छ। यस्तै फिल्म ‘मुलान’ काे चीनमा रिलिज हुने मिति पनि निश्चित छैन। यी दुई फिल्म चीनमा रिलिज हुनुलाई निकै फाइदाजनक मानिन्थ्यो।
सन् २०१५ मा फिल्म ‘स्पेक्टर’ ले चीनमा ८३.५ करोड डलरको कारोबार गरेको थियो जबकि संसारभरी यो आँकडा ८ सय करोड डलर थियो। यसैगरि ‘मिशन इम्पोसिबल’ सिरिजको सातौं मूभीको प्रोडक्सन पनि कारोना भाइरसका कारण रोकिएको छ।