एजेन्सी– गत वर्ष ४० जना भारतीय अर्धसैनिक बलको मृत्यु हुने गरी पुलवामा भएको आत्मघाती बम आक्रमणको अनुसन्धानको क्रममा एकजना महत्वपूण अभियुक्त पक्राउ परेका छन्। उक्त आक्रमणमा संलग्न अभियुक्त शाकिर बसिर मग्रेलाई भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले पक्राउ गरेको हो।
पाकिस्तानमा आधारित रही कश्मीर र भारतका अन्य क्षेत्रमा बारम्बार आतंककारी आक्रमण गर्दै आएको जैश ए मोहम्मद समूहमा आबद्ध उनले आत्मघाती आक्रमणकारी अदिल अहमद दारलाई आवास र अरु सहयोग गरेका थिए।
पुलावामाकै काकपोरामा बसोबास गर्ने उनले फर्निचर पसल चलाउँदै आएको भारतीय अधिकारीले जनाएका छन्। उनलाई पाकिस्तानी आतंककारी मोहम्मद उमर फारुखले पुलवामा आक्रमणका आत्मघाती आक्रमणकारी अदिल अहमद दारसँग सन् २०१८ मा परिचय गराएका थिए।
प्रारम्भिक बयानका क्रममा उनले पुलावामा आक्रमणसहित विभिन्न समयमा जैश ए मोहम्मदका आतंककारीहरुलाई हतियार, गोलिगठ्ठा, विष्फोटक पदार्थ र पैसा संकलन गरी बुझाउने गरेको खुलासा गरेका छन्।
उनले अदिल अहमद दार र मोहम्मद उमर फारुखलाई सन् २०१८ देखि आक्रमणको मितिसम्म आवास प्रदान गरेको र विष्फोटक पदार्थ बनाउन सहयोग गरेको पनि बयान दिएका छन्। त्यसबाहेक आक्रमणका बेला प्रयोग गरीएको कार बम बनाउन मारुतीको इको कारलाई मोडिफाई गर्नमा समेत उनले सहयोग गरेका थिए।
अनुसन्धानका क्रममा उक्त आक्रमणमा एमोनियम नाइट्रेट, नाइट्रो ग्लिसिरिन र आरडिएक्सको प्रयोग भएको थियो भने डिएनए परीक्षणबाट आक्रमणकारी आदिल अहमद दारको पनि पहिचान भएको थियो।
अनुसन्धानबाट उक्त आक्रमणमा दक्षिणी कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर मुदस्सर अहमद खान, पाकिस्तानी आतंककारीहरु मोहम्मद उमर फारुख, बम बनाउन सिपालु कमरान, बम राखिएको कारका धनी सजाद अहमद भट र कश्मीरका लागि जैश ए मोहम्मदका कमाण्डर करी यासीर को पनि संलग्नता खुलेको थियो। ती सबैको भारतीय सैनिकको सुरक्षा कारवाहीमा विभिन्न समयमा मृत्यु भइसकेको छ।