एजेन्सी– चीनको वुहान शहरबाट फैलिएको कोरोना (कोभिड १९) भाइरस विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।
कोरोना फैलने क्रम तीब्र भएकाले विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ। डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन्।
विश्वका ५० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ९ सय २४ पुगेको छ भने ८५ हजार २ सय सात संक्रमित छन्। दक्षिण कोरियामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ। त्यस्तै थप ५ सय ९४ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ९ सय ३१ पुगेको छ।
दक्षिण कोरियाको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन केन्द्रले स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ। सबैभन्दा बढी प्रभावित राक्ष्ट्र चीनमा ७९ हजार २ सय ५२ जना संक्रमित छन् भने कोभिड १९ कै कारण ज्यान गुमाउनेको सङ्ख्या २ हजार ९ सय ३१ रहेको छ।
इटालीमा र इरानमा पनि कारोनाको प्रकोप तिब्र रुपले फैलिरहेको छ। इटालीमा २१ जनाको मृत्यु भइसकेको छ भने ८ सय ८९ जना संक्रमित छन्। त्यस्तै इरानमा ३४ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ८८ जना संक्रमित छन्।
यस्तै ३९ हजार ५ सय १७ जना निको भएर घर फर्किसकेका पनि छन्। दक्षिण कोरियामा रहेका नेपालीहरू अहिले त्रासमा रहेका छन्। संक्रमित तथा मृतकको संख्या बढेसँग त्यहाँ रहेका नेपालीमा अन्यैतमा छाएको छ। दक्षिण कोरियामा फैलिरहेको कोरोना भाइरसप्रति नेपाल सरकारको ध्यानाकर्षण हुन सकेको छैन।
विश्वबजारको शेयरमा उथलपुथल
कोरोना भाइरसकै कारण संसारभरका शेयर बजारमा पनि उथलपुथल आएको छ। यो अवस्था सन् २००८ को विश्वव्यापी आर्थिक सङ्कट यताकै सबैभन्दा खराब भएको विश्लेषण गरिएका छन्। कोरोनाभाइरसको प्रकोप फैलिएपछि लगानीकर्तामा देखिएको डरका कारण संसारभरको शेयर बजार ओरालो लागेको छ। लन्डनको फुट्सी १०० इन्डेक्स पनि तीन प्रतिशतभन्दा बढीले घटेको छ।
एशियाली शेयर बजारमा यसअघि नै प्रभावित भइरहँदा अमेरिकाको डाउ जोन्सको पनि सबैभन्दा ठूलो गिरावट भएको छ। एशियामा जापानको शेयर बजार ३.७ प्रतिशतले घटेपछि यो साता कूल ९ प्रतिशतको गिरावट आएको थियो। भारतका निफ्टी ५० र सेन्सेक्स शेअर बजार दुवै लगभग तीन प्रतिशतले घटेको छ। चीनको साङ्घाई कम्पोजिट इन्डेक्स शुक्रवार ३.७ प्रतिशतले घटेको छ।
युरोपेली शेयर बजार पनि क्रमिक रुपमा ओरालो लागेका छन्। जर्मनीको शेयर बजार ३.६ प्रतिशतले घट्दा फ्रान्सको शेयर बजार ३.१ प्रतिशतले घटेको छ। अस्ट्रेलियाको शेयर बजार ३.३ प्रतिशतले घट्यो जुन सन् २००८ यताको सबैभन्दा ठूलो गिरावट हो। लगानीकर्ताहरूमा कोरोना भाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी देखिने डरले उत्साहित नभएको बीबीसीले उल्लेख गरेको छ।