काठमाडौं– नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ छायांकन सुरु भएकाे छ। आज काठमाडाैंकाे कार्यविनायक मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हाे। चलचित्रको शुभसाइत समारोहमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापाको साथमा चलचित्रको सिंगो यूनिट नै उपस्थित थियो।
चलचित्रका कलाकारले क्यामेरा पूजा गर्दै केही दृश्य काठमाडाैंमा खिचेर आजै पोखरा जाने निर्देशक झरना थापाले बताईन्। यस्तै चलचित्रको छायांकन पोखरामा १० दिन, काठमाडाैं र ललितपुरमा करिब ३० दिन गरिने चलचित्रका निर्माता सुनिल कुमार थापाको भनाई छ।
यसपछि चलचित्रको छायांकन यूरोप र ओमानमा गरिने सुनिलले बताएका छन्। प्रेमकथामा बन्न लागेको यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षको छ।
चलचित्र ‘ए मेरो हजुर ३’ मा पनि नायक अनमोल केसी र नायिका सुहाना थापाकै जोडी थियो। गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर ३’ को चौथो सिरिजलाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले जनाएकाे छ।