एजेन्सी– चीनको सैन्य युद्धपोतबाट आफ्नो पी–८ सर्भेलेन्स विमानमाथि सैन्य ग्रेडको लेजर प्रहार भएको अमेरिकी जलसेनाले आरोप लगाएको छ। बिहीबार एक वक्तव्य जारी गर्दै अमेरिकी जलसेनाले गत साता भएको यस घटनालाई ‘असुरक्षित र अव्यवसायिक’ भएको संज्ञा दिएको छ।
‘जनगणतन्त्र चीनको नेभी डिस्ट्रोयरको हर्कत असुरक्षीत र अव्यवसायिक थियो,’ अमेरिकी ज सेनाले आफ्नो वक्तव्यमा भनेको छ। ‘सैन्य ग्रेडको लेजरले चालक दल र विमान र विमानको सिस्टममा असर पुर्याउन सक्छ,’ विज्ञप्तिमा थप भनिएको छ।
ड्याजलर्स भनेर चिनिने सैन्य ग्रेडको लेजर बिमले शक्तिशाली प्रकाशको सृजना गर्छ जुन लामो दुरीसम्म यात्रा गर्न सक्छ। यसले विमानको ककपिटलाई उज्यालो बनाएर पाइलटलाई केही बेर ‘दृष्टिविहीन’ बनाइदिन सक्छ।
यस विषयमा अमेरिकाले औपचारिक कुटनीतिक विरोध ‘डिमार्के’ पनि जारी हुन सक्ने रक्षा मन्त्रालय स्रोतले सीएनएनलाई जनाएको छ। सन् २०१८ मा जिवुटीमा अमेरिकी सी–१३०जे विमानमा यस्तै घटना हुँदा पनि अमेरिकाले कुटनीतिक विरोध जनाएको थियो। साउथ चाइना सीमामा अमेरिका र चीनबीच लामो समयदेखि तनाव चलिरहेको छ।