एजेन्सी– दिल्लीको अशोक नगरस्थित सेतो र हरियो रङ्ग लगाइएको एक मस्जिदको अगाडि दर्जनौंको सङ्ख्यामा मानिसहरूको भिड लागेको छ। मस्जिदको अगाडिको भाग जलेको छ।
बुधवार बिहान बीबीसीको टोलीले अशोक नगरस्थित ‘बडी मस्जिद’ बाहिर रहेका युवकहरूसँग कुराकानी गर्ने प्रयास गर्दा उनीहरूको प्रतिक्रियामा स्पष्ट रूपमा आक्रोश देखिन्थ्यो। मस्जिदभित्र बिछ्याइएका कालिनहरू डढेका थिए भने भुइँमा टोपीहरू पनि छरिएको देखिन्थ्यो।
मस्जिदको मिनारमा भारतको राष्ट्रिय झन्डा र सिन्दूरे रङ्गको अर्को झन्डा लगाइएको देखिन्थ्यो। मस्जिद बाहिर रहेका मानिसहरूले उक्त क्षेत्रभन्दा बाहिरबाट आएका मानिसहरूको भिडले मङ्गलवार त्यस्तो काम गरेको बताए।
‘दुस्खी’
मस्जिदमा पुगेको क्षतिबाट दुस्खी रियाज सिद्दीकीले भने, “मानिसहरूले यस्तो गरेर आखिर के पाउँछन्?’’ त्यस क्षेत्रमा बसोबास गर्ने हिन्दू समुदायका मानिसहरूसँग पनि बीबीसीले कुराकानी गरेको थियो। उनीहरूले उक्त मस्जिद त्यहाँ बर्षौंदेखि रहेको र सो मस्जिदमा क्षति पुर्याउने मानिसहरू बाहिरबाट आएकाहरू भएको बताए।
स्थानीय हिन्दूहरूका अनुसार यदि उनीहरूले त्यसरी बाहिरबाट आएका मानिसहरूलाई रोक्ने कोसिस गरेका भए सायद उनीहरू पनि मारिन्थे।
घटनाको गम्भीरता र त्यहाँको वातावरणको संवेदनशीलतालाई विचार गरेर यो लेखमा मानिसहरूको भावना भड्किन सक्ने संभावना रहेका केही दृश्य र घटनास्थलमा उपस्थित केही मानिसहरूको भनाइ हटाइएको छ। बीबीसीको सम्पादकीय नीति अनुरूप यसो गरिएको हो। बीबीसी