एजेन्सी– दक्षिण कोरियाको थेगु सहर कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेको छ। जहाँ २५ लाख जनसंख्या भएको थेगु सहरका बासिन्दालाई यहाँको सरकारले बाहिर ननिस्कन र मास्क लगाउन आग्रह गरेको छ।
यो सहरलाई सरकारले लगभग बन्द नै गराएको छ। यहाँ रहेका नेपाली समुदायलाई पनि सोलस्थित दूतावासले बाहिर ननिस्कन र मास्क लगाएर सुरक्षित रहन आग्रह गरेको छ।
नेपाली दूतावासले विज्ञप्ति निकाल्दै नेपालीहरुलाई कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहन आग्रह गरेको हो। थेगु र आसपासमा मात्रै एक हजार भन्दा धेरै नेपाली कामदार छन्। कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि नेपाली दूतावासले त्यस क्षेत्रका नेपाली कामदारलाई कम्पनीबाट बाहिर ननिस्कन आग्रह गरेको हो।कोरियामा ४० हजार भन्दा धेरै नेपाली कामदार रहेको दूतावासका अधिकारीहरुको भनाइ छ।
मंगलबारसम्म दक्षिण कोरियामा ८ सय ९३ जनामा कोरोना भाइरस संक्रमण देखिएकोमा ९ जनाको मृत्यु भइसकेको छ। सोमबार मात्रै एकै दिन ६१ जनामा संक्रमण भेटिएको थियो। दक्षिण कोरियाको सबैभन्दा धेरै संक्रमणका बिरामी थेगुमा देखिएका हुन्।
चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण संसारका दुई दर्जन बढी देशमा महामारीकै रुपमा फैलिएको छ। चीनपछि जापान, दक्षिण कोरिया, इटाली, इरान लगायत देशमा कोरोना भाइरसका बिरामी भेटिएका हुन्। मृत्यु हुनेमा सबैभन्दा धेरै चिनियाँ नागरिक नै छन्।