एजेन्सी– चिनियाँ पुस्तक व्यापारी गुइ मिनहाइलाई चीनका गोप्य सूचना विदेशमा दिएको भन्दै चीन सरकारले १० वर्षको जेल सजाय सुनाएको छ। पूर्वी सहर निंग्बोको अदालतले मंगलबार यस्तो सजाय सुनाएको हो। गुइ मिनहाइ चीनमा जन्मिएर पछि स्वीडिस नागरिकता लिने एक पुस्तक व्यापारी हुन्। जसले २०१८ मा फेरि चिनियाँ नागरिकता लिएका थिए। तर उनले स्वीडिस नागरिकता त्यागेका थिए वा थिएनन् भन्ने यकिन छैन।
गुइ हङकङका सर्वाधिक बिक्री हुने पुस्तक व्यापारीको रुपमा पनि चिनिन्छन्।चीनबाट उनले अवैध रुपमा पुस्तक व्यापार गर्ने पनि उनीमाथि आरोप छ। यसअघि उनले दुई वर्षको जेलजीवन बिताइसकेका छन्। उनी बेइजिङमा स्वीडिस कुटनीतिहरुका साथ रेलमा रहेका बेला पक्राउ परेका हुन्।
उनका परिवार र आफन्तले उनको पक्राउलाई राजनीतिक कारण भएको दावी गरेका छन्। कवि समेत रहेका गुइका साथी बेइ लिङले गुइले आफ्नो गल्ती स्वीकार गर्नुमा राजनीतिक दबाव कारण भएको टिप्पणी गरेका थिए।