एजेन्सी– भारतको यमुना पारी इलाकामा नागरिकता संशोधन कानूनविरुद्ध विरोध प्रदर्शन हिंस्रक बनेकाे छ। उक्त हिंसामा अहिलेसम्म चार सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ।
दिल्ली सरकारका मन्त्री गोपाल राय बाबरपुर इलाकामा गोलीबारी र आगलागीको घटना सार्वजनिक भएपछि संवेदनशील इलाकामा पुलिस बल पठाउने निवेदन लिएर दिल्लीको उप राज्यपाललाई भेट्न उनको आवास पुगेका छन्। तर यो खबर लेखुञ्जेलसम्म दिल्लीको पर्यावरण मन्त्री गोपाल रायसँग एलजी अनिल बैजालको भेट हुन सकेको छैन।
सोमबार भएको हिंस्रक घटनामा चार जनाको मृत्यु भएको छ। जाफराबादमा बस्ने मोहम्मद सुल्तान नामका प्रदर्शनकारीको खुट्टामा गोली लागेर अत्यधिक रक्तश्राव भएका कारण मृत्यु भएको हो। यस्तै प्रदर्शनका क्रममा शाहिद अल्वी नामका टेम्पो चालकको पनि गोली लागेका कारण मृत्यु भएको छ। शाहिद अल्वी मूल रुपमा उत्तर प्रदेशको बुलन्दशहर जिल्लाको डिबाई क्षेत्रका बासिन्दा हुन्।
बीबीसीका अनुसार जीटीबी अस्पतालमा २५ घाइते भर्ना भएका छन्। अस्पताल स्रोतले बताए अनुसार २५ जनालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएको छ। तीमध्ये एक डीसीपी छन् जसलाई मेक्स अस्पताल रिफर गरिएको छ। रतन लाल नामका पुलिसकर्मी र अन्य एक युवकलाई मृत अवस्थामा अस्पताल र्पुयाइएको थियो। घाइतेलाई क्रिटिकल केयरमा राखिएको छ।
जीटीबी अस्पताल प्रशासनले डाक्टरको ड्युटी बढाइदिइको छ। यस्तै समाचार एजेन्सी पीटीआईका अनुसार उक्त हिंसामा हेड कन्सटेबलरतन लालको पनि मृत्यु भएको छ। थुप्रै इलाकामा ढुङ्गा हानाहान र आगलागीपछि स्थिती तनावग्रस्त भएको छ।
पुलिसको लाठीचार्ज पछि भाडदौडको स्थिती सृजना भएको छ। थुप्रै घर र व्यापारिक प्रतिष्ठानमाथि पनि आगजनी गरिएको छ। जुन इलाकामा हिंसा भएको छ त्यहाँ मुसलमानको ठूलो जनसंख्या छ। हिंसालाई ध्यानमा राखेर दिल्ली मेट्रोले सुरक्षाका कारण पाँच स्टेशन बन्द गरेको छ।
बाबरपुर–मौजपुर मेट्रो स्टेशनमा भारी मात्रामा ढुङ्गा हानाहान भएको छ। यहाँ कम्तीमा दुई वाहनमा आगलागी गरिएको छ।