एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दुई दिने राजकीय भ्रमणका लागि सोमबार भारत आइपुगेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पत्नी मेलानिया र छोरी इवांकाका साथ भारत भ्रमणमा आएका ट्रम्पलाई अहमदाबाद एयरपोर्टमा स्वागत गरे।
ट्रम्पको सुरक्षाका लागि मात्रै प्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ। ट्रम्पको भ्रमणका दौरान सुरक्षा व्यवस्थापनमा मात्रै भारत सरकारले १ अर्ब भारतीय रुपैयाँ भन्दा बढी खर्च हुने जनाएको छ। ट्रम्पको सुरक्षाका लागि आधुनिक हतियारले सु–सज्जित सुरक्षाकर्मी मात्रै हैन, लंगुर (ढेडु) पनि परिचालन हुनेछन्। भारत सरकारले राष्ट्रपति ट्रम्पको सुरक्षाका लागि ५ वटा लंगुर परिचालन गरेको छ।
ट्रम्पले आग्रास्थित ताजमहलको भ्रमण (अवलोकन) गर्ने क्रममा ती लंगुरहरुलाई परिचालन गरिने जनाइएको छ। भारतको आग्रा शहर देशकै सबैभन्दा बढी बाँदर आतंक हुने ठाउँको रुपमा चिनिन्छ। ताज महलमा पनि बाँदरले उत्पात मच्चाउने गर्छन्। तिनै बाँदरका कारण उत्पन्न हुने सुरक्षा चुनौतीको सामना गर्न भारत सरकारले ५ वटा लंगुरलाई सुरक्षाका लागि परिचालन गर्न लागेको हो।
लंगुरलाई देखेपछि बाँदरहरु भाग्ने गर्छन्। ठूलो संख्यामा मानवीय जनशक्ति परिचालन गर्दा पनि बाँदर भगाउन नसकिएपछि सरकारले लंगुर परिचालन गरेको हो। राष्ट्रपति ट्रम्ले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागी जनाउने बिबिसी हिन्दीले बताएको छ