एजेन्सी– पृथ्वी गोलो होइन चेप्टो छ भनेर प्रमाणित गर्नका लागि अन्तरिक्षमा जान खोज्ने एक अमेरिकी नागरिकको रकेट दुर्घटनामा मृत्यु भएको छ।
‘पागल’ उपनाम गरिएका ६४ वर्षीय माइक ह्यूजले अन्तरिक्षमा जान वाष्पशक्तिबाट चल्ने एउटा रकेट बनाएका थिए। आफ्नो अन्तरिक्ष यात्राका लागि शनिबार रकेट प्रक्षेपण गरेका ह्यूजको रकेट दुर्घटनामा उनको मृत्यु भएको हो।
वाष्पशक्तिबाट चल्ने भनिएको उक्त रकेड जमिनबाट उडेको केही समयमै पुनः जमिनमै आएर ठोक्किएको थियो। अन्तरिक्षमा उड्ने ह्यूजको प्रयासलाई यूएस साइन्स टीभी च्यानलको होममेड एस्टोनट्स कार्यक्रमका लागि पूरै खिचिएको थियो। उक्त कार्यक्रमका लागि खिचिएको भिडियोमा एउटा रकेट आकाशमा उडेको केही बेरमै नजिकै जमिनमा खसेर बजारिएको देखिन्छ।
ह्यूजले आफ्ना साथीहरुको सहयोगमा १८ हजार अमेरिकी डलर (करिब १९ लाख नेपाली रुपैयाँ) खर्च गरेर उक्त रकेट निर्माण गरेका थिए। आफ्ना साथी वाल्डो स्टेक्सको सहयोगमा वाष्पशक्तिबाट चल्ने उक्त रकेटमार्फत पृथ्वीबाट ५ हजार फिट माथि (टाढा) जान खोजेका थिए।
ह्यूजले धेरै अगाडि पृथ्वी गोलो नभइ चेप्टो भएको दाबी गरेका थिए। गएको मार्चमा पनि उनी रकेटमार्फत पृथ्बीबाट १ हजार ८ सय ७० फिट माथि पुगेका थिए। जहाँबाट उनी प्यारासूटमार्फत फर्किएका थिए। ह्यूजले सन् २००२ मा कार उडाएर १ सय ३ फिटको दूरी पार गरी गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा समेत नाम लेखाएका थिए।