काठमाडौं – सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे ( सुन्तलि) को फिल्म ‘सेन्टी भाइरस’ ले बक्स अफिसमा आक्रामक व्यापार गरेको छ। शिवरात्रिको अवसरमा रिलिज भएको यो फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो।
रामबाबु गुरुङको निर्देशनमा रहेको यो फिल्मले पहिलो दिननै १ करोड १२ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमले दाबी गरेको छ। शुक्रवार र शनिवार राजधानीका सिङ्गल थिएटरमा दर्शकको चाप थियो। फिल्म हेर्न दर्शक ओइरिएका थिए।
शुक्रबारको भन्दा शनिवारकोे व्यापार भने अझै बढी थियाे। विदाको दिन परेकाले पनि फिल्मले शनिवार आक्रामक व्यापार गरेको हाे। निर्माण टिमको आँकडा अनुसार फिल्मले दोस्रो दिन १ करोड ३५ लाख कमाइ गरेको छ।
दयाहाङ राई, विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सीताराम कट्टेल लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्म हास्य विधामा निर्माण भएको हो। फिल्मले समीक्षा भने राम्रो पाउन सकेको छैन। फिल्मलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन्।