काठमाडौं– बारीमा पाती पलाएमा बोटबिरुवा सप्रिदैन, भन्ने चलन छ। तर त्यही पाती अर्थात् तितेपातीमा भने अपार औषधीय गुण हुन्छ। यो आम्दानीको स्रोत बन्नसक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन।
तितेपाती खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ। फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टिमिसिया भल्ग्यारिस हो। नेपालमा तितेपातीको औषधीय गुणको गहन अध्ययन र परीक्षणबाट ठोस प्रतिफल वैज्ञानिक तहबाट प्राप्त हुन नसके पनि केही स्थानीयले भने प्रयास गरिरहेका छन्।
तीतेपातीबाट तेल त्यसैगरी तेजपात, रोजमेरी, थुजा सल्लालगायत वासना आउने वनस्पतिको तेल निकाल्ने परीक्षण भईरहेको छ भने सुनसरी, झापा, धनकुटा र देशका पश्चिमी भेगका केही स्थानीयले तितेपाती लगायतका वनस्पतिबाट सुगन्धित तेल बनाउने प्रयास गरेका छन्।
त्यस्तै काभ्रेको ढुङ्गखर्क, बुढाखानी र नालामा धसिङ्गरे लगायतका जडीबुटीको तेल निकाल्ने कार्य स्थानीयवासीले गर्दै आएका छन्। भने, केही स्थानमा तितेपातीको तेल निकाल्ने प्रयास भईरहेको छ। तितेपातीको लामो अनुसन्धानपछि परम्परागत औषधिबाट मलेरिया निको पार्न सकिने खोजले जनाएको छ। यसलाई अनुसन्धानकर्मीले सन् १९६५ देखि गरेको अध्ययनको प्रतिफलका रूपमा त्यो खोज सम्पन्न भएको थियो।
क्यान्सर रोगको उपचारसमेत सम्भव गर्न सक्ने औषधीय गुण तितेपातीमा भएको खोजले बताएको छ।तितेपातीको खोज र अनुसन्धानमा यतिबेला जापान, जर्मनी, भारत, पाकिस्तान पनि सक्रिय छ। यसबाट कतै अत्तर निकालिरहेका छन् भने, कतै विभिन्न औषधि उत्पादन पनि भइरहेको छ।