एजेन्सी– क्यानडाको राजधानी ओटावाका व्यवसायी ब्रुस म्याककनभिल अहिले सर्वत्र चर्चाको पात्र भएका छन्। यी धनाढ्यले सम्बन्ध विच्छेदपछि पूर्वपत्नीलाई दिनुपर्ला भनेर ११ करोडभन्दा बढी रुपैयाँ बराबरको नोट जलाइदिएका छन्।
पूर्वपत्नीलाई क्षतिपूर्तिबापतको रकम नदिने नियतले करोडौँ रुपैयाँ जलाएको उनले अदालतलाई बताएका छन्। उनले न्यायाधीशलाई भनेका थिए, ‘म अत्यन्त भौतिकवादी मान्छे होइन। म सधैँ मितव्ययी रहेँ। त्यसैले ३१ वर्षसम्म व्यवसाय गर्न सकेँ।’
उनको कुरा सुनेपछि न्यायाधीशले हप्काउँदै भनेका थिए, ‘तपाईं इमानदार हुनुहुन्न। तपाईंलाई विश्वास गर्न सकिन्न।’ अघिल्लो मंगलबार उनले अदालतसमक्ष गत सेप्टेम्बर र डिसेम्बरमा गरी दुई पटक ११ करोड रुपैयाँभन्दा बढी मूल्यका नोट जलाएको बयान दिए।
अदालतले उनलाई एक महिनाको जेल सजाय दिएको छ। अदालतले सम्बन्ध विच्छेदको प्रक्रिया टुंगो नलागुञ्जेल हरेक दिन दुई लाख रुपैयाँको दरले पूर्वपत्नीलाई उपलब्ध गराउनू भन्ने आदेश पनि दिएको छ।
म्याककनभिल सन् २०१८ मा ओटावाको मेयरको चुनावमा उठेका थिए र हारेका थिए। पूर्वपत्नीलाई दिनुपर्ला भनेर करोडौँ रुपैयाँ जलाउने उनी मेयरमा चुनिएको भए के–के वितण्डा गर्थे होलान् भनी सामाजिक सञ्जालमा जिब्रो टोक्नेहरूको कमी छैन।