एजेन्सी– अमेरिकाजस्तो खुला समाजमा पनि अविवाहितलाई शारीरिक सम्बन्ध बनाउन बन्देज लगाउने कानुन अझै जीवित रहेछ। कुरा, भर्जिनिया राज्यको हो।
यहाँको कानुनले अविवाहितले यौन सम्बन्ध कायम गरे त्यसलाई व्यभिचार मान्छ। विवाहित जोडीबाहेक अरूलाई शारीरिक सुखको अधिकार कानुनतः प्राप्त हुँदैन। अविवाहितले सहमतिमा पनि सेक्स गर्न पाउँदैनन्।
अविवाहित जोडीले यौन सम्पर्क गरे त्यसलाई व्यभिचारको अपराध मानिन्छ। सजायस्वरूप २ सय ५० डलरसम्म जरिवाना हुन सक्छ। हालसालै अलेक्जान्ड्रिया शहरका प्रतिनिधि मार्क लेभिनले आन्तरिक विधेयक (हाउस बिल) प्रस्तुत गर्दै व्यभिचारसम्बन्धी पुरानो कानुन खारेजीको प्रस्ताव गरेका छन्। उनले पुरानो कानुनलाई भिक्टोरिया कालको कानुन भनेका छन्। ‘कानुनमा असंवैधानिक प्रावधान राख्नु गलत हो,’ लेभिनले भने, ‘कसैले पनि सेक्सजस्तो सामान्य अभ्यास गरेबापत दण्डित हुनु हुँदैन।’
हुन त भर्जि्नियामा व्यभिचारको अपराधमा बिरलै सजाय भएका छन्। तर, कानुनले ‘अश्लील प्रदर्शन’जस्ता अपराधसँग जोडेर मान्छेहरूलाई सजायको भागी बनाउन सक्छ।
लेभिनले अधिकांश भर्जिनियावासीले अविवाहित अवस्थामै शारीरिक सम्बन्ध बनाउन सुरु गर्ने बताए। ‘पुरानो कानुन मूर्खतापूर्ण छ,’ उनले भने, ‘यसको खारेजी जरुरी छ।’
व्यभिचारसम्बन्धी भर्जिनियाको कानुनले भन्छ– नैतिकता र शिष्टताविरुद्धका अपराध दण्डनीय छन्।
विधायक लेभिन सम्पूर्ण भर्जिनियावासीले पुरानो कानुन रद्द गर्न चाहेको बताए। ‘भर्जिनिया प्रेमीहरूको राज्य हो,’ उनले भने, ‘कानुनतः प्रेम गर्न वर्जित भएपछि यो कसरी प्रेमीहरूको राज्य भयो?’ व्यभिचारसम्बन्धी कानुन खारेजीको प्रस्ताव भएको विधेयक हाल अमेरिकी संसद् सिनेटमा पुगेको छ।