एजेन्सी– भारतको दिल्ली नजिकै २५ वर्षीया युवतीलाई आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै हत्या गरेका छन्।
परिवारका सदस्यहरुले नै ती युवतीको हत्या गरी फालिदिएको घटना सार्वजनिक भएको छ। पूर्वी दिल्लीबाट कारमा उनको मृत शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा फ्याँकिएको थियो।
शीतल चौधरी नामकी युवतीलाई उनकै अभिभावक र अंकलहरु मिलेर हत्या गरी फालेको समाचार भारतीय मिडियाले सार्वजनिक गरेका छन्। घटना सार्वजनिक भएपछि प्रहरीले ती युवतीको परिवारका सदस्य सञ्जय र ओम प्रकाश, अंकलका दुई छोरा अंकित र प्रवेशलाई पक्राउ गरेको छ।
उनीहरुले शीतल चौधरीलाई अपहरणपछि हत्या गरेको दिल्ली प्रहरीको आरोप छ। शीतलका श्रीमान अंकित भाटीले मुद्दा दायर गरेपछि प्रहरीले घटनामा चासो देखाएको हो। प्रहरीका अनुसार उनीहरुले गत अक्टोबरमा परिवारको अनुपस्थितिमा गोप्य रुपमा विवाह गरेका थिए।
साथै परिवारभन्दा टाढा रहँदैआएका थिए। चौधरी र भाटी दुबैका परिवार डेरी व्यवसाय चलाउँदैआएका छन्। साथै उनीहरु छिमेकी पनि हुन्। पछिल्लो तीन वर्षयता उनीहरु ‘डेटिङ’ गर्दैआएका थिए। चौधरीको हत्यापछि परिवारका ६ जना मिलेर गाडीमा शव राखी सिकन्द्राबादमा लगेर फालेको प्रहरीको भनाइ छ।