काठमाडौं– गीतमा अश्लील शब्द प्रयोग गरेको आरोपमा केही समयअगाडि मात्रै पक्राउ परेर छुटेका र्यापर समिर घिसिङ ‘भिटेन’को नयाँ गीत केही दिन अगाडी सार्वजनिक भएको छ। ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको उनको यो गीत युट्युब ट्रेन्डिङको नम्बर ८ औं स्थानमा पर्न सफल भएको छ।
प्रणय दिवसको अवसरमा म्युजिक भिडियोसहित रिलिज भएको यो गीतमा पनि उनले अश्लील शब्द प्रयोग गरेका छन्। यस गीतले १ लाख ८० हजार भन्दा बढी भ्यूज पाएको छ।
गत कात्तिक ७ गते अश्लील गीतहरु गाएको र नेपाल प्रहरीको बदनाम गरेको आरोपमा उनी पक्राउ परेका थिए। ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रयोग गरिएका शब्द आपत्तिजनक रहेको र भिडियोमा प्रहरीको बर्दी दुरुपयोग गरेको आरोप उनीमाथि थियो। उनी तीन दिन हिरासतमा बसेर छुटेका थिए।
प्रहरीले भिटेनमाथि मूलतः तीनवटा आरोप लगाएको थियो — गीतमा अश्लील शब्द प्रयोग गरेको, सार्वजनिक ठाउँमा अभद्र व्यवहार देखाएको र अनुमतिविना प्रहरी युनिफर्मको दुरुपयोग गरेको।
https://youtu.be/7RN8gYxHW54