एजेन्सी– दक्षिण कोरियाले कोभिड–१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ। शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोभिड–१९ भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको हो।
त्यस्तै उनले त्यसलाई रोक्नका लागि सरकारले सबै प्रयास जारी राख्न कुनै गल्ती हुन नदिनेसमेत बताएका छन्। शुक्रबारसम्म कोरीयामा २ सय ४ जनामा कोभिड–१९ देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ। ‘अवस्था निकै जटिल छ म सबैलाई सकेसम्म छिटो स्वास्थ्य जाँच गर्न र लक्षणहरू देखिए क्वारेन्टाइनका मापदण्ड अपनाउन आग्रह गर्छु,’ इनले भने।
प्रधानमन्त्री चुङ से क्युनले यसअघिका सबै प्रयास बाहिरबाट भाइरस आफ्नो देशमा नआओस् भन्नेमा भए पनि अब यसलाई स्थानीय रूपमा फैलिन नदिनमा केन्द्रीत हुने बताए। ‘अब हामी आपतकालीन चरणमा आइपुगेका छौं, हाम्रा सबै प्रयास यसलाई फैलिन नदिनेमा हुनेछन्,’ उनले भने।
सउलदेखि तीन सय किलोमिटर दक्षिणपूर्वको थेगुमा रहेको एक ठूलो चर्चका सदस्यहरूमा कोभिड–१९ देखिएको छ। कोरियाभरि शाखा भएको सिन्चेन्जी चर्चको थेगु शाखामा जानेलाई कोभिड–१९ देखिएको छ। कोरियाभरि संक्रमण भएकामध्ये आधाभन्दा सोही चर्चमा जानेहरू रहेको अधिकारीहरूले बताएका छन्।