एजेन्सी– चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ। बिहीबार राति वुहान अस्पतालमा उपचाररत २९ वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ।
डाक्टर पेङ जियाङजिया जिल्लामा रहेको फस्ट पिपल्स हस्पिटलमा कार्यरत रहेका थिए। बिरामीको उपचारमा खटिएको बेला नै उनमा कोरोना भाइरसको संक्रमण भएको हो। उनलाई जनवरी २५ मा अस्पताल भर्ना गरिएको थियो।
यसअघि हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङ, कोरोना प्रकोपको चेतावनी दिने ३४ वर्षीय डाक्टर ली वेनलियाङ र वुहान अस्पतालका निर्देशक लिउ झिमिङको मृत्यु भएको थियो।
कोरोना भाइरस संक्रमितको उपचारमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारी अनुसार अहिलेसम्म कम्तीमा ७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ भने एक हजार ७ सयभन्दा बढीमा संक्रमण देखिएको छ।
डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म चीनमा २२३६ र अन्य देशमा ११ गरी २२४७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै विश्वभर ७६ हजारभन्दा बढी संक्रमित भएका छन्।