एजेन्सी– चीनको वुहान शहरबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ। उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन्।
उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिने क्रममा सडकमा निस्किएका प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेको बीबीसीले जनाएको छ।
उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन्। यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गरेका छन्। साथै उनले हामी सबै मानव हौं भन्ने स्मरण गर्न पनि आग्रह गरेका छन्।