एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकासँग राम्रो व्यवहार नगरेको आरोप लगाएका छन्। भारतले अमेरिकासँग राम्रो व्यवहार गरेन, ट्रम्पले दुई देशबीचको व्यापार सम्बन्ध उल्लेख गर्दै भने, तर मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ। उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच ७० लाख जनताले मलाइ स्वागत गर्ने बताएका छन्।
राष्ट्रपति ट्रम्प आगामी साता दुई दिने भ्रमणका लागि भारत पुग्दै छन्। ट्रम्पले गतवर्ष विकासोन्मूख देशलाई दिँदै आएको कर छुट भारतका लाथि अन्त्य गरेपछि दुई देशबीचको सम्बन्धमा केही चिसिएको छ। क्यालिफोनियामा बुधबार बोल्दै ट्रम्पले ‘भारतसँग ठूलो व्यापार सम्झौता गरिने तर त्यसका लागि बेला नआइसकेको ’ बताए। उनका अनुसार त्यस्तो सम्झौता यस वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि हुन सक्ने सम्भावना रहेको उल्लेख गरे।
‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनावअघि हुनेरनहुने निश्चित भने छैन।’
भारतीय सञ्चारमाध्यमले भने ट्रम्पको भ्रमणका क्रममा दुई देशबीच एक ‘ट्रेड प्याकेज’ हस्ताक्षर हुने दाबी गरेका छन्। ट्रम्पले पत्रकारसँगको कुराकानीमा आफू भारत भ्रमणका लागि निकै उत्साहित भएको बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेब्रुअरी २४ मा भारतको दुईदिने औपचारिक भ्रमणमा आउँदैछन्।