एजेन्सी– इन्डोनेशियामा अहिले रियल लाइफ स्पाइडरम्यानको चर्चा चलिरहेको छ। उक्त स्पाइडरम्यानको नाम रुडी आर्टोनो हो। जो सडक र समुन्द्र किनारमा फोहोर र प्लास्टिक उठाउने गर्छन्।
चीनपछि इन्डोनेशिया प्लास्टिक प्रदूषण फैलाउने दोस्रो ठूलो देश हो। प्लास्टिक प्रदुषण कम गर्न रुडीले केही समयअघि सफाइ अभियान सुरु गरेका थिए। जसको चर्चा राष्ट्रिय स्तरमा भइरहेको छ।
३६ वर्षीय रुडी आर्टोना एक क्याफेमा काम र्गछन्। उनी क्याफेको काम सकेर दैनिक राति ७ बजेदेखि सफाइ सुरु गर्ने गर्छन्। रुडीका अनुसार, यसअघि मानिसहरु सरसफाइसँग कुनै किसिमको लगाव राख्दैनथे। अन्य मानिसलाई यस अभियानसँग जोड्न स्पाइडरम्यानको भेषमा सफाइ सुरु गरेको कारण राष्ट्रिय स्तरको चर्चा भएको हो। र सफाइ हरेक मानवको दायित्व हो भन्ने सम्झेर यो अभियानमा लागी परेको उनले बताए।
स्पाइडर म्यानको पहिरन भने उनले आफ्नो भतिजलाई खुशी बनाउन किनेको बताएका छन्। तर उक्त पहिरन राम्रो काममा प्रयोग गर्न पाउँदा उनी खुशी छन्।
सन् २०१८ मा वातावरण तथा वन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार, २५ करोडभन्दा बढी जनसंख्या रहेको देश इन्डोनेशियामा दिनहुँ २.७ टन फोहोर उत्पादन हुन्छ। एक अध्ययनका अनुसार, इन्डोनेशिया १७ हजारभन्दा बढी टापुको समूह हो।
सरकारले प्लास्टिक सहितको फोहोर व्यवस्थापन सुधार गर्न कडा नियम लागू गरेको हार्टोन बताउँछन्।