एजेन्सी– बेलायती सांसद डेबी अब्राहम्सलाई देश निकाला गरेलगत्तै भारतीय राजनीतिमा एक किसिमको तरंग छाएको छ।
डेबीलाई भारतमा प्रवेश नदिना साथ नेताहरुले यसबारे टिकाटिप्पणी गर्न थालेका थिए। सोमबार डेबी भारत भ्रमणमा ओर्लने वित्तिकै उनलाई फिर्ता पठाइएको थियो। भारतीय सरकारका अधिकारीहरुले उनको गतिविधि ‘राष्ट्रिय हित विरुद्ध’ भएको भन्दै फिर्ता पठाइएको बताएका छन्।
सरकारको गोप्य स्रोतले बेलायती सांसदलाई यसबारे सूचना दिएको पनि बताएका छन्। डेबी सोमबार बिहान दुबइको उडानबाट ८ बजेर ५० मिनेटमा नयाँदिल्ली आइपुगेकी थिइन्।
तर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई अध्यागमनका कर्मचारीले उनको भिजा अवधि सकिएको भन्दै फिर्ता पठाएका हुन्। ती सांसद भारत सरकारले जम्मु कश्मीरबारे गरेको निर्णयको कडा रुपमा आलोचना गर्दैआएकी थिइन्। कश्मीरको पक्षमा उनले गरेको अभियान पनि उनलाई निकाल्नुको कारण भएको बताइएको छ।
बेलायती सांसद अब्राहम्सले भने आफ्नो भारत भ्रमण अस्वीकृत भएपछि ट्वीटरमा असन्तुष्टि पोखेकी छन्। यस्तो निर्णयबाट आफू दुखी भएको भन्दै ट्वीटरबाट आपत्ति जनाएकी हुन्। बेलायतमा पनि डेबीले कश्मीर समूहको नेतृत्व गर्दैआएकी छन्। बारम्बार उनले भारत सरकारको आलोचना गर्दै कश्मीरको पक्षमा बोल्दैआएकी थिइन्।