एजेन्सी– आफ्ना केही आफन्तसहित १६ जनाले बलात्कार गरेकी एक ८ वर्षकी बालिकाको बिहीबार शंकास्पद स्थितिमा मृत्यु भएको छ। आज तकको समाचार अनुसार घटना भारतको चेन्नइको विलुपुरमको हो। पुलिसका अनुसार बालिका केही दिनदेखि पेट दुखाइ र ज्वरोसँग जुधिरहेकी थिइन्। पुलिसले बालिकाको मृत्युको घटनामा आइपीसी धारा १७४ (शंकास्पद अवस्थामा मृत्यु) अन्तर्गत मुद्दा दर्ता गरेको छ।
३ कक्षामा पढ्ने ती बालिका आमा, दिदी, सौतेनी पिता र सौतेनी दाजुसँग बस्थिन्। बुधबार राती उनी शौचालय गएपछि फर्किइनन्। पछि आमाले छिमेकीको सहयोगमा ढोका फुटाएर हेर्दा उनी भित्र बेहोस अवस्थामा लडेकी थिइन्। अस्पताल लिएर गएकोमा त्यहाँ डाक्टरले बालिकालाई मृत घोषित गरिदिए।
२०१७ मा बालिकाकी आमा आफ्ना पतिसँग छुट्टिएकी थिइन् र चेन्नइ गएकी थिइन्। यस क्रममा उनले आफ्ना दुई छोरीहरुलाई आफन्तकहाँ छोडेर गएकी थिइन्। चेन्नइ गएको १ वर्षपछि आमा फर्किइन्। फर्किएपछि उनले आफ्ना २ छोरीहरुसँग यौन शोषण र बलात्कार भएको थाहा पाइन्। त्यसपछि उनी छोरीहरुलाई लिएर पुडुचेरी गइन्।
त्यहाँ गएर उनले छोरीहरुलाई अर्कै स्कुलमा भर्ना गरिन्। स्कुलमा बालिका अचानक बेहोस भएपछि उनलाई अस्पताल लिएर गइएको थियो। अस्पतालमै उनलाई बलात्कार गरिएको थाहा भएको थियो। त्यसपछि चाइल्ड हेल्पलाइनको निर्देशनमा आमाले तिंडिवनममा १६ जनाविरुद्ध बलात्कारको उजुरी दिएकी थिइन्। पुलिसले १६ जनालाई पक्राउ गरेर कारवाही अगाडि बढाउँदै थियो।