एजेन्सी– जमिनको उत्खनन गर्दा जमिनभित्रबाट ६ हजारभन्दा धेरै मानिसहरुको कंकाल बरामद गरिएको छ। यो घटना पूर्वी अफ्रिकी देश बुरुण्डीको हो। यहाँको सरकारको तर्फबाट जनवरीमा देशैभरी सुरु गरिएको उत्खनन अभियानपछि यो कंकालको अहिलेसम्मकै सबैभन्दा ठूलो खोज भएको रोयटर्सको समाचारमा उल्लेख छ।
बुरुण्डीको कस्सी प्रान्तका ६ सामूहिक चिहानबाट यति ठूलो संख्यामा कंकाल बरामद गरिएको हो। समाचारका अनुसार कूल ६ हजार ३३ जनाको कंकाल भेटिएका छन्। कंकालको साथबाट गोलीहरु, मानिसहरुका कपडा, चश्माहरु लगायत अन्य सामानहरु पनि भेटिएका छन्। शवसँग भेटिएका सामानबाट मानिसहरुको पहिचान भइरहेको छ।
केही वर्ष पहिले सरकारले देशभरका ४ हजार सामूहिक चिहान खन्ने र शवको पहिचान गर्ने निर्णय गरेको थियो। यसको लागि सत्य निरुपण तथा मेलमिलाप आयोग बनाइएको छ। बुरुण्डीमा १९९३ मा गृहयुद्ध सुरु भएको थियो। यो युद्ध २००५ सम्म चल्यो। अन्त्यमा एक सम्झौता भएपछि युद्ध रोक्न सकिएको थियो।
अनुमानका अनुसार गृहयुद्धका क्रममा करिब ३ लाख नागरिकले ज्यान गुमाएका थिए। बुरुण्डीमा १९६५, १९६९, १९७२, १९८८ र १९९३ मा सामूहिक नरसंहार भएका थिए। हुतु र तुत्सी समुदायका धेरैजसो मानिसहरु हिंसाको शिकार भएका थिए। संयुक्त राष्ट्रसंघले मे २०२० मा हुने चुनावअघि बुरुण्डीमा फेरि मानवअधिकार हननका घटना बढ्न सक्ने चेतावनी दिएको छ।