एजेन्सी– भारतको चर्चित निर्भया बलात्कार घटनाका दोषीहरुलाई ३ मार्चमा फाँसी दिने पटियाला हाउस कोर्टले डेथ वारेन्ट जारी गरेको छ।
यस अघि दुई पटक अदालतले फाँसीको मिति सारेको थियो। विभिन्न याचिकाहरुको कारण फाँसी टरेको थियो। सोमबार जारी भएको डेथ वारेन्टमा चारै जना दोषीहरुलाई बिहान ६ बजे फाँसी दिने समय अदालतले तोकेको छ।
मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई फाँसी दिइने भएको हो। यस अघि २२ जनबरीलाई फाँसी दिने मिति तोकिएकोमा दया याचिका राष्ट्रपतिले कारबाही नगर्दा रोकिएको थियो।
पछि १ फरबरीमा फाँसी दिने मिति सुनाइएपनि अदातलको आदेशको कारण रोकिएको थियो। निर्भयाकी आमा आशादेवीले यो पटकको डेथ वारेन्टपछि भने आशा जागेको बताएकी छिन्।
उनले दोषीहरुलाई फाँसी दिने र कानूनको छिद्रलाई समातेर फेरी फाँसी नरोकिने विश्वास रहेको बताइन्। तर दोषीहरुको वकिल एपी सिंहले भने अझै उनीहरुसँग कानूनी विकल्प बाँकी भएको बताएकाछन्।