काठमाडौं– गायक नवराज घोरासैनीले झण्डै १० वर्षपछि आफूलाई ‘कमब्याक’ गराएको छ। गायक घोरासैनीले ‘मिर्मिर कपालैमा’ बोलको गीतसहित आफूलाई नेपाली गीत सङ्गीतमा कम्ब्याक गराएको हो।
आफ्नै शब्द, स्वर र सङ्गीतमा उनले ‘मिर्मिर कपालैमा’ ल्याएको हो। ‘मिर्मिर कपालैमा’ बोलको गीतमा घोरासैनीलाई गायिका अञ्जु पन्तले साथ दिएको छ। गीत अत्यन्तै गलितो बनेको घोरासैनीले बताएका छन्।
‘लामो समयको अन्तरालपछि ‘मिर्मिर कपालैमा’ ल्याएर आएको छु’, उनले भने, ‘गीत सङ्गीतबाट म हराएको छैन भन्ने सन्देश दिन पनि ‘मिर्मिर कपालैमा’ ल्याएको छु।’ यसअघि घोरासैनीले ०५८ साल साउन महिनामा ‘घुम्तीनेर भेट भयो...’ बोलको गीत ल्याएको थियो। त्यसबेला यो गीत लोकप्रिय भएको थियो।
उनले थुप्रै गीतहरूमा स्वर पनि दिए तर उनको ‘घुम्तीनेर भेट भयो’लाई अरु गीतले उछिन्न सकेन। उनले ‘घुम्तीनेर भेट भयो’ बोलको गीतकै मिठासमा ‘मिर्मिर कपालैमा’ गीत ल्याएको छ।
काँठे भाकाको ‘मिर्मिर कपालैमा’लाई घोरासैनीले आफ्नै युट्युब च्यानलबाट रिलिज गरे। गीतको म्युजिक भिडियोको निर्देशन शिव विकले गरेको छ। एसराज गराच र जेबिका कार्कीले भिडियोमा अभिनय गरेको छ। गीतको रेकर्डिङ मारुनी डिजिटल्समा गरिएको छ। (रासस)