एजेन्सी– जापानका अधिकारीहरूले पानीजहाजमा रहेका यात्रुहरूका लागि आइफोन बाँडेका छन्।
फिलिपिनो टाइम्स का अनुसार उक्त क्रूजशिपमा रहेकामध्ये केही मानिसहरूमा कोरोनाका संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य व्यक्तिहरूलाई कोरोना भाइरससम्बन्धी अपडेट दिनका लागि आइफोन बाँडिएको हो।
डायमण्ड प्रिन्सेस क्रूजशिपमा यात्रा गरेका ७ सय ७१ जनाको जाँच गर्दा २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।
३ हजार ७ सय मानिस रहेको पानी जहाजमा सामूहिक रूपमा २ हजार आइफोन वितरण गरिएको छ। यात्रुहरूलाई कुनै पनि खालको समस्या नहोस् र आवश्यक पर्दाको बखत तुरुन्तै सहयोग प्राप्त गर्न सकोस् भन्ने मान्यताका साथ आइफोन बाँडिएको हो।
यात्रुहरूलाई बाँडिएका आइफोनमा एक विशेष खालको एप इन्स्टल गरिएको छ। उक्त एपको सहयोगले यात्रुहरूले स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेट तथा समाचारहरू प्राप्त गर्न सक्ने छन्।
आइफोनमा रहेको एपमार्फत यात्रुहरूले डाक्टरसँग भेटको समय लिने र औषधि अर्डर गर्ने गर्नुका साथै आफूलाई मानसिक तनाव भएको बेला सिधै मानसिक रोग विशेषज्ञ तथा परामर्शकर्तासँग छलफल गर्न सक्छन्।