एजेन्सी– बेलायती सेनाध्यक्ष चिफ अफ जनरल स्टाफ मार्क कार्लटोन स्मिथ एकसाता लामो नेपाल भ्रमणमा आएका छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका बलाधीकृत रथी शरद गिरीले स्वागत गरे।
नेपाल र बेलायतबीच पुरानो, घनिष्ट सम्बन्ध रही आएको छ। नेपालको लोकतन्त्र र आर्थिक विकासमा बेलायतले सहयोग गर्दै आएको छ।
नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सेनाध्यक्ष स्मिथले भेट गर्ने छन्। प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटवार्ता गर्ने छन्। बेलायती सेनाध्यक्ष स्मिथले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रको अवलोकन तथा हवाईजहाजबाट नेपालका हिमालहरुको दृश्यावलोकन गर्ने छन्। उनले पोखराको पनि भ्रमण गर्नुहुने बताइएको छ।
नेपाली सेनाका अधिकृतलाई बेलायतले हरेक वर्ष विभिन्न प्रकारका सैनिक तालीम उपलब्ध गराइरहेको छ। हालसम्म ठूलो सङ्ख्यामा नेपाली सेनाका सकल दर्जाले यस प्रकारका तालीम प्राप्त गरिसकेका छन्।
विश्व शान्ति स्थापना कार्यमा नेपाली सेना र बेलायती सेनाले कतिपय स्थानमा एक साथ मिलेर काम गर्दै आएका छन्। यसैबीच दुई देशबीच सन् १८१६ देखि गोर्खा सैनिक भर्ना सम्बन्धमा सम्झौता भएको थियो।
बेलायती गोर्खा सैनिक भर्नामा नेपालका लिम्बु, राई, गुरुङ, मगर समुदायका साहसिक र इमान्दार युवाको पहिलो रोजाइ पर्दै आएको छ।
बेलायतले गोर्खा सैनिकको योगदानको कदर गर्दै सम्मानस्वरुप त्यहाँको रक्षा मन्त्रालय परिसरमा गोर्खा सैनिकको शालिक स्थापना गरेको छ।
बेलायती सैनिकलाई प्रदान गर्ने सबैभन्दा महत्वपूर्ण पदक भिक्टोरिया क्रस पदक १३ जना गोर्खा सैनिकले प्राप्त गर्न सफल भएको इतिहास छ। सैनिक सहयोगमार्फत नेपालले बेलायतलाई ठूलो गुन लगाएको छ। हाल तीन हजार ५०० को सङ्ख्यामा नेपाली युवा ब्रिटिस गोर्खा सैनिकमा कार्यरत छन्।
बेलायतले कम्तीमा वार्षिक रुपमा १५० देखि आवश्यकताअनुसार ४५० जनासम्म नेपाली युवालाई सेनामा भर्ना गर्दै आएको छ।