काठमाडौं– चलचित्र ‘ए मेरो हजुर ४’ ले प्रदर्शन मिति तय गरेको छ। यो फिल्म आगामी वर्षको दशैंको अवसर पारेर कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।
यसअघि पनि अन्य केही फिल्महरुले दशैंको अवसर पारेर सोही मितिमा फिल्म निर्माण गर्ने घोषणा गरेका थिए। निर्माता दीपकराज गिरी र निर्देशक प्रदीप भट्टराईले आफ्ना फिल्म यही मितिमा रिलिज गर्ने बताएका थिए। अब भने ३ वटा प्रतीक्षित फिल्मले नै एकैसाथ रिलिज मिति तोक्दा निर्मातामा दशैंको डेट लिनलाई तँछाडमछाड भएको छ।
फिल्ममा अनमोल केसी र सुहाना थापाको शीर्ष भूमिका रहनेछ। ‘ए मेरो हजुर ३’ मा पनि साथै काम गरेका अनमोल र सुहानाको जोडी दर्शकले पुनः पर्दामा देख्न पाउनेछन्। बुधवार मात्र निर्देशक झरना थापाले ‘ए मेरो हजुर ४’ साउन या भदौमा रिलिज हुने संकेत गरेकी थिइन्।
यद्यपि निर्माण टिमले अब भने दशैंको डेटमा फिल्म रिलिज गर्ने जनाएको हो। झरना थापाको नै निर्देशन रहने यो फिल्ममा मनोरञ्जन सँगै प्रेम कथा रहने निर्माण टिमले जनाएको छ।