काठमाडौं– ‘कबड्डी’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रिश्मा गुरुङ (मैयाँ) बैबाहिक जीवनमा बाँधिएकी छन्। पछिल्लो पटक ‘कबड्डी’ को तेस्रो पार्टमा देखिएकी उनले शुक्रबार पोखरामा प्रेमी सन्दिप गुरुङसँग विवाह गरेकी हुन्।
विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो। रिश्मा अब फिल्म नगर्ने निर्णयमा पुगेको बताइएको छ। फिल्मबाट टाढिने निर्णय लिनुको कारण खुलाउँदै उनले केही समयअघि एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘फिल्म क्षेत्र सोचेजस्तो रहेनछ। पहिला हामी स्थापित हुन संघर्ष गर्छौं। तर, एउटा स्थानमा पुगेपछि उनीहरु हाम्रो कलाको दुरुपयोग गर्छन्। त्यसरी सधैं कम्प्रोमाइज गरेर बसिरहनुभन्दा फिल्म नै नगर्नु उत्तम लाग्यो।’
उनी फिल्म क्षेत्रमा हुने गरेको शोषणबाट पनि आजित भएकी रहेछिन्। आफू यौन शोषणमा नपरेको भए पनि श्रम शोषणमा परेको उनको भनाई छ। उनी अहिलेसम्म आफूले गरेका कुनै फिल्मबाट पूरा पारिश्रमिक नपाएको बताउँछिन्। प्राप्त जानकारी अनुसार, अभिनेत्री रिश्माको अन्तिम फिल्म ‘कबड्डी ४’ हुनेछ। यो फिल्मपछि उनले फिल्म अभिनयबाट सन्यास लिने बुझिएको छ।