एजेन्सी– अमेरिकाका पूर्व राजदूतकी छोरीले छुरा प्रहार गरी एक जनाको हत्या गरेकी छिन्। २४ वर्षे युसुफ रासमुसेनलाई विवादका बीच २७ वर्षे सोफिया नेग्रोपोन्टोले छुरा प्रहार गरेकी हुन्। बिहिबार राती उनलाई पक्राउ गरिएको छ। वेस्ट मोन्टगोमेरी एभेन्यूको ४०० ब्लकमा रहेको घरभित्र उनीहरुको विवाद भएको थियो।
नेग्रोपोन्टे जोन नेग्रोपोन्टेकी छोरी हुन्। जोन सन् २००७ – २००९ सम्म राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकालमा संयुक्त राज्य अमेरिकाको उप–सचिवको रुपमा कार्यरत रहे। यसका साथै उनले विभिन्न देशका राजदूतको रुपमा पनि कार्यभार सम्हालेका छन्।
मोन्टगोमेरी काउन्टी पुलिस र रकभिल पुलिसले बिहिबार राती करिब सवा ११ मा छुरा प्रहारसम्बन्धि जानकारी पाएको बताए। अधिकारीले रासमुसेनलाई गहिरो चोटसहित घरभित्रै पाएका थिए।
रासमुसेनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई मेरिल्याण्डको चिफ मेडिकल इक्जामिनरको अफिसमा पोष्टमार्टमको लागि राखिएको छ। सोफियालाई प्रथम श्रेणीको हत्याको आरोपमा पक्राउ गरिएको छ।